बुधबार, वैशाख २६, २०८१

सुकुटे दुर्घटनामा २ महिने छाराे गुमाएकी घाइते सरिताकाे बयान

नेपालखोज २०७६ कार्तिक १८ गते ७:२२

१७ कार्तिक, काभ्रे । चालकले पटकपटक गाडी बिग्रिएको बताएका थिए। दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो। त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो।

बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे। म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ। मेरो बच्चा २ महिनाको मात्रैै थियो।’ –घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन्।

धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ। ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ। दूध चुसिरहेको छोरो काखमा छैन। म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन्– ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो। मेरो छोरा हराइरहेको छ। धेरैबेर खोजें। अरूले पनि खोज्न सहयोग गरे तर फेला परेन।

अनि मलाई अस्पताल ल्याइयो।’ –सरिताले भनिन् । सरिताका अनुसार मुढेभन्दा अगाडिदेखि नै बस बिग्रिएको थियो। बिग्रिएको बसलाई चालकले विस्तारै विस्तारै रोकेर अन्यत्र स्थानमा पनि बनाउँदै खाडीचौरसम्म ल्याइपुर्याएका थिए। खाडीचौरमा खाना र खाजा खाएपछि बस सामान्य अवस्थामा गुडिरहेको थियो।

बसभित्र म्युजिक पनि गुन्जिरहेको थियो। सबै निदाएजस्तै शान्त अवस्थामा थिए। बस खचाखच थियो। सरिताको जेठो छोरा ३ वर्षको छन्। श्रीमान् एक महिनाअघि मात्रै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका हुन्। घरमा आफन्तलाई जेठो छोरा छाडेर सरिता काठमाडाैं जान उक्त बसमा चढेकी थिइन् ।

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटना हुदाँ १७ जनाकाे मृत्यु भएकाे थियाे भने ४७ जना घाइते भएका थिए ।

प्रतिक्रिया