बिहीबार, चैत १५, २०८०

छोराहरुको अपराधले बुढेसकालमा आमा जेलमा

नेपालखोज २०७६ कार्तिक २० गते १६:२२

२० कार्तिक, काठमाडौं । छोराहरुले गरेको अपराधले एक महिला बुढेसकालमा जेलमा पुगेकी छिन् । हेटौंडा उपमहानगरपालिका–२ की ५८ वर्षिय लक्ष्मीदेवी पोखरेल यसले यस्तो पीडा भोगेकी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई मंगलबार पक्राउ गरी जेल चलान गराएको छ ।

पोखरेलमाथि क्रिष्टल फाइनान्सलाई ठगी गरेको आरोप छ । प्रहरीका अनुसार उनका छोराहरुले जग्गा धितो राखी सो फाइनान्सबाट कर्जा लिएका थिए । कतिपय जग्गा लक्ष्मीको नाममा भएकाले उनको नाममा समेत कर्जा निकालेर छोराहरुले चलाएका थिए । जग्गाको मूल्याङकनभन्दा धेरै कर्जा लिएर अनियमितता भएको खुलेपछि सिआईबीले बैंकका कर्मचारी तथा ऋणीमाथि मुद्दा चलाएको थियो । जसमा अदालतले समेत दोषी ठहर गरेपछि उनी जेल परेकी हुन् ।

अदालतले दोषी ठहर गरेपछि पर्सामा आफन्तको घरमा गएर उनी लुकेकी थिइन् । प्रहरीले थाहा पाएर उनलाई पर्साबाटै पक्राउ गरेको हो ।
उनका जेठा छोरा ३३ वर्षिय संजय पोखरेल पनि पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले संजयलाई काठमाडौंको गौशालाबाट तजा लक्ष्मीदेवीलाई पर्साबाट पक्राउ गरेको हो । दुवैलाई अदालतले दोषी ठहर गरी सजाय सुनाइसकेकाले कारागार चलान गरिएको सिआईबीका प्रवक्ता एसपी वेल बहादुर पाण्डेले बताए ।

उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा संजयलाई तीन वर्ष कैद र एक करोड ९५ लाख २६ हजार जरिवाना सुनाएको थियो ।
लक्ष्मीदेवीलाई दुई वर्ष कैद र ७९ लाख २२ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो । २१ मंसिर २०७१ मै अदालतले दोषी ठहर गरेपनि उनीहरु फरार रहँदै आएका थिए । संजयका भाई समेत सोही मुद्दामा जेलमै छन् । फाइनान्सकै मुख्य सञ्चालक दिव्य कुमार श्रेष्ठ लगायतको मिलेमतोमा कर्जा दुरुपयोग गरी कम्पनीभित्र करोडौं हिनामिना भएको थियो । श्रेष्ठ लगायतलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

प्रतिक्रिया