शुक्रबार, वैशाख ७, २०८१

पत्रकार राहत कोष गठन गर्ने नेपाल पत्रकार मञ्चको घोषणा

नेपालखोज २०७६ कार्तिक २३ गते १५:५२

२३ कार्तिक, काठमाण्डौ । स्वतन्त्र रुपमा विभिन्न सञ्चार माध्यममा पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुको छाता संस्थाका रुपमा एक दशकदेखि क्रियाशील रहेको नेपाल पत्रकार मञ्चको विस्तारित वैठकले पत्रकारहरुको निम्ति राहत कोष गठन गर्ने निर्णय गरेको छ ।
काठमाण्डौको जहरसिंहपौवामा सम्पन्न विस्तारित बैठकले कोषण गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कोषको व्यवस्थापन गर्न उदयनारायण भट्टराईको संयोजकत्वमा मञ्चको कोरिया शाखाका अध्यक्ष सन्तोष खड्का तथा क्यानडा शाखाका अध्यक्ष श्रीकृष्ण फुँयाल सदस्य रहेको समिति गठन समेत गरेको छ ।

यसैगरी सो बैठकले पत्रकार मञ्चको हालको सांगठानिक संरचनामा परिवर्तन गर्नको निम्ति विधान संशोधन गर्ने निर्णय समेत गरेको छ । १७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको वर्तमान संरचनामा एकजना वरिष्ठ उपाध्यक्ष र महिला सचिव रहने व्यवस्थासहित विधान संशोधन गरी आगामी अधिवेशनमा प्रस्तुत गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले पत्रकारहरुको हकहित र बृत्ति विकासका निम्ति मञ्चले स्थापना कालदेखि नै विभिन्न रचनात्मक गतिविधिहरु आयोजना गर्दै आएको बताएका थिए । उनले संस्थागत रुपमा समेत मञ्चले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएकोमा यसलाई निरन्तरता दिने बताए ।

मञ्चका महासचिव विमलकुमार थापाले मञ्चले सम्पन्न गर्ने कार्यक्रमहरु स्वभाविक रुपमा पत्रकार लक्षित हुने भएकाले यसलाई अझ सिर्जनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । समस्यामा परेका मञ्चमा आवद्ध पत्रकारहरुका लागि विगतदेखि नै विभिन्न खाले सहयोग समेत मञ्चले गर्दै आईरहेको छ ।

प्रतिक्रिया