छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या
बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजालचोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।
छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका थिए । चारै जनाको धवलागिरी अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।
विकले शनिबार घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । “आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठिक भएको बुझ्नमा आयो”, रेग्मीले भने । “सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएकाले अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ ।”
विकको शव परीक्षणका लागि धवलागिरी अस्पताल ल्याउन लागिएको छ । विकले दिएको साग खाएपछि चारै जना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामीमध्ये चुडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ ।
प्रतिक्रिया