शुक्रबार, वैशाख ७, २०८१

काठमाडौंका पाँचतारे होटलमा भारतबाट गाईको मासु तस्करी ?

नेपालखोज २०७६ कार्तिक २४ गते १२:२६

२४ कार्तिक, काठमाडौं । काठमाडौंका ठूला होटल तथा रेस्टुरेन्टहरुमा भारतबाट गाईको मासु तस्करी हुने गरेको सूचनाका आधारमा छानबिन सुरु भएको छ । राजश्व अनुसन्धान विभागले दुई ट्रक नियन्त्रणमा लिएर छानबिन थालेको छ । ट्रकबाट १० हजार केजी कुखुराको मासु बरामद र केही गाईको मासु बरामद भएको छ ।

विभागले मासु तस्करीको सूचनाको आधारमा मंगलबार भारतबाट आउँदै गरेका दुई ट्रकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको थियो । यूपी बि ३ एटी ९६४७ र एआर ५५ आर ४८५० नम्बरका ट्रक चालकसहित विभागले नियन्त्रणमा लिएर छानबिन गर्दा मासु तस्करी हुने गरेको पाइएको छ । अन्य खाद्यान्नभित्र लुकाएर मासु तस्करी भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

सो गाडीबाट १० हजार केजी कुखुराको मासु बरामद गरेको छ । साथै दुई सय ४० केजी मासु गाईको मासु भएको आशंका गरिएको छ । बरामद मासुमा बफ लेखिएको र गाईको भएको हुनसक्ने महानिर्देशक मैनाली बताउँछन् । त्यसको परीक्षण गरिने उनको भनाइ छ । बरामद मासु काठमाडौंका पाँच तारे होटलमा बिक्री हुने गरेको रावश्वको सूचना छ ।

सर्लाहीस्थित भन्सार कार्यालयबाट ती ट्रकको भन्सार पास भएका थिए । ठूलो मात्रामा यसरी मासु तस्करी हुनेमा भन्सार कार्यालयकै कर्मचारीको मिलेमतो देखिएको विभागले जनाएको छ । रिन्कु कुमारी सञ्चालक रहेको सिआर ट्रेडिङ कम्पनीका नाममा ती सामान आयात गरिएको थियो । कम्पनीका सञ्चालकहरु भने फरार छन् । चालकसहित तीन जनालाई भने विभागले थुनामा राखेर छानबिन थालेको छ । यसमै ठूलै गिरोह संलग्न रहेको आशंका गरिएको छ ।

विदेशी पर्यटकलाई लक्षित गरी काठमाडौंका कतिपय होटलले गाईको मासु बिक्रि गरेको हुनसक्ने विभागका कर्मचारीहरु बताउँछन् । जबकी नेपालमा गाई काट्न र मासु किनबेच गर्न प्रतिबन्धित छ ।

प्रतिक्रिया