शुक्रबार, वैशाख १४, २०८१

हनुमानको पूजा गर्नाले यस्ता फल प्राप्त हुनेछन्

नेपालखोज २०७६ मंसिर ४ गते ६:००

४ मंसिर, काठमाडौं । वैष्णव सम्प्रदायमा हनुमानलाई ब्रम्हचारी, सङ्कटमोचक, सिद्धिदाता, शत्रुविजयको लागि पनि पूजा गर्ने गरिन्छ। उनको पूजा र उपासना गरेमा रोग व्याधिबाट, शत्रु बाधाबाट, राजाको भयबाट, प्राकृतिक शक्तिको बाधाबाट, पिचासी शक्तिबाट, भूतबाट, बोक्सीबाट, बतासबाट, खोलाबाट, आगोबाट, राक्षसी शक्तिको प्रकोपबाट र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने धारणा आज पनि वैष्णव सम्प्रदायका समर्थकहरूले विश्वास गर्ने गर्दछन्।

वर्तमान समयमा मानिसहरू उनलाई सङ्कटमोचन, कष्टबाट मुक्ति, शत्रु विजय र भूत, पिचासबाट मुक्ति पाउनको लागि पूजा गर्दछन्। हनुमानको पूजा विशेषगरी सङ्कटबाट मुक्ति पाउनका लागि यस सम्प्रदायको मानिसहरूले गर्दछन्।विशेष गरी प्रयाभिज्ञा शक्ति, ब्रम्हचार्य शक्ति, कठोर व्रत शक्ति, बुद्धि, माधुर्य शक्ति प्राप्त गर्नको लागि हनुमानको पूजा गरिन्छ। यस मतका अनुयायीहरूले उनलाई शत्रु विजय प्राप्त गर्नको लागि पनि पूजा गर्ने गर्दछन्। हनुमानलाई भक्तियोगको लागि महत्त्वपूर्ण मानिन्छ।

उनले भक्तियोग र कर्मयोगद्वारा रामको सामिप्य प्राप्त गरेका थिए। वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ। आठ प्रकारका यौगिक शक्तिहरू अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व उनमा थिए। साथै हनुमानलाई परब्रम्हा र रौद्ररूपमा पनि स्मरण गरिन्छ।

प्रतिक्रिया