शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री ओलीले निर्वाचन आचार संहिता उल्लंघन गरे, स्पष्टीकरण सोध्ने तयारीमा निर्वाचन आयोग

नेपालखोज २०७६ मंसिर ६ गते १४:२०

६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनको मुखैमा प्रदेश प्रमुखको फेरबदलदेखि मन्त्री फेरबदल गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

निर्वाचन आचार संहितालाई प्रभाव पार्नेगरी प्रधानमन्त्रीले मन्त्रिमण्डल फेरबदलको काम गरेको भन्दै यस कदम प्रति आयोगको ध्यान आकर्षण भएको निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले जानकारी दिए । उप—निर्वाचनको लागि आयोगले कात्तिक ८ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गरेपनि प्रधानमन्त्री ओलीले बुधबार नयाँ मन्त्री नियुक्त गरी आचार संहितालाई ठाडो उल्लंघन गरे ।

निर्वाचन आचार संहिता लागु भैसकेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम प्रति नेपाली काँग्रेसले औला उठाएको  थियो । कांग्रेसले संहिता उल्लंघनको आरोप लगाएपछि आयोगले यसबारे सोच्ने मनस्थिति बनाएको हो ।

यस्तै, आयोगले निवाचनकालागि सहि वातावरण तयार पारेको समेत बताएको छ । निर्वाचन सुरक्षा समितिले शान्ति सुरक्षाको पक्ष बलियो भएको बताएको हो । यही मंसिर १४ गते ३७ जिल्लाको ५२ पदमा निर्वाचन हुने छ । त्यसकालागि मतपत्र छापेर पठाई सकिएको, थप मतदाताको परिचयपत्र बनाएर पठाई सकिएको भन्दै डर, त्रास नमानी ढुक्क भएर मतदान गर्न आयोगले आग्रह गरेको छ । उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित बनाउन उपनिर्वाचन हुने ३७ वटै जिल्लामा जिल्लास्तरीय समिति समेत गठन गरिएको छ ।

यता, सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन प्रचारप्रसारमा लागेको, नयाँ योजना बाँडेर मतदाता प्रभावित बनाएको, बजेट बितरण गरेर आचारसंहिता उल्लंघन गरेको कांग्रेसको आरोप लगाएको छ ।

प्रतिक्रिया