बिहीबार, चैत १५, २०८०

प्रभावकारी बन्दै छोरी बचाउ अभियान 

नेपालखोज २०७६ मंसिर ६ गते १५:१३

६ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले विसं २०७५ मा ल्याएको छोरी बचाउ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । छोरीलाई बोझ ठान्ने मानिसको धारणामा पनि परिवर्तन आएको छ । छोरी बोझ होइन, छोरीलाई सम्मान गर्नुपर्छ र समयअनुसार दक्ष एवं शिक्षित बनाउँदै लैजानुपर्ने धारणाको विकास हुनुनै कार्यक्रमको सफलता भएको विराटनगर महानगरपालिकाको ठहर  छ ।

चालू आर्थिक वर्षबाट शुरु भएपछि लाभान्वित वर्ग खुसी हुँदै गएको महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले बताए । विराटनगर महानगरपालिकाले महानगरभित्र बालबालिकाको हितको संरक्षण, सरसफाइ, लैङ्गिक समानता, हिंसा, गरीबी, सीमान्त महिलाको छोरीको गर्भपतनको न्यूनीकरण, छोरीलाई प्रोत्साहन गर्नका लागि महानगरपालिकामा छोरी बचाउ अभियान कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यसका लागि महानगरपालिकाले रु ३५ लाख बजेट विनियोजन गरेको छ । परिवारमा छोरीको महत्व र छोरीलाई प्रोत्साहन गर्ने, छोरीलाई समान स्थान दिने, पहिलो र दोस्रो सन्तान छोरीलाई यस कार्यक्रमले सन्तानको परिभाषा भित्र राखिएको र छोरी बचाउ अभियानअन्र्तगत पहिलो सन्तानलाई रु तीन हजार र दोस्रो सन्तानलाई रु २५ सय विराटनगर महानगरपालिकाले ग्लोबल बैंकमा खाता खोली सो रकम बैंकमा १८ वर्षको लागि राखिदिने गरेको छ । पहिलो सन्तानअन्र्तगत ३५ जनाले यो सुविधा लिएका छन् । दोस्रो सन्तान जन्माउने ३२ जनाले यो सुविधा लिएका छन् ।

सेवा लिनलाई स्वास्थ्य संस्था वा अस्पतालमा सन्तान जन्मिएको हुनुपर्ने, ३५ दिनभित्र जन्म दर्ता गरेको, वडा कार्यालयको सिफारिस अनिवार्य लिएको, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ताको प्रतिलिपि र दोस्रो सन्तानको हकमा दुवै छोरीको जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रुपमा रहेको उपप्रमुख कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया