महोत्तरीको सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
१० मंसिर, महोत्तरी । उपनिर्वाचनको मिति नजिकिँएसंगै महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्तरुपमा गस्ती थालेका छन् ।
संयुक्त सुरक्षा गस्तीले उपनिर्वाचनका मुखमा सीमाक्षेत्रबाट हुने अवाञ्छित गतिविधि नियन्त्रणसँगै साना हतियारको ओसारपसार, लागुऔषध कारोवार र मानव तस्करी रोक्न र सीमा विवाद बढ्न नदिन सहयोग पुग्ने भन्दै नेपाल र भारतका सुरक्षा निकायले संयुक्तरुपमा गस्ती थालेका हुन् ।
आगामी मंसिर १४ गते शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ ।
अहिले महोत्तरीको पूर्वीदक्षिणी सीमा मटिहानीदेखि पश्चिमीदक्षिणी सीमा खैरबनीसम्मको दशगजा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलका जवानले संयुक्त गस्ती गरिरहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।
पिपरा गाउँपालिकाका अध्यक्ष र मटिहानी एवं बलवा नगरपालिकाका तीन वडाका वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । बलवा – २ र ८ एवं मटिहानी–६ सहित तीन वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा अहिले पिपरा, बलवा र मटिहानीमा राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । उपनिर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने जनशक्ति, सुरक्षाकर्मी र अन्य व्यवस्था मिलाइस किएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिए ।
प्रतिक्रिया