शुक्रबार, चैत १६, २०८०

मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा

नेपालखोज २०७६ मंसिर ११ गते १०:०२

११ मंसिर, कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर गुरुङले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अनुरोधबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए । बिदाको समयमा विद्यालयमा अन्य कुनै प्रकारका कार्यक्रमसमेत आयोजना नगर्न पत्रमार्फत सूचित गरिएको उनले बताएका छन् ।

उपनिर्वाचनका लागि ३२ मतदानस्थल र ८२ मतदान केन्द्र तोकिएको छ । विद्यालयबाहेक तीन वडा कार्यालयलाई समेत उपनिर्वाचनमा मतदानस्थल तोकिएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले उपनिर्वाचनमा मतदान अधिकृत तोकिएकालाई मतपत्रसहित ५६ प्रकारका निर्वाचन सामग्री हस्तान्तरण गरेको छ । मतपत्रसहित निर्वाचन सम्पन्न गराउन आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी आज बेलुकासम्म सम्बन्धित मतदानस्थलमा पुगिसक्ने कार्यालयका प्रमुख महेन्द्र सुवेदीले बताउनुभयो ।

उपनिर्वाचनमा ४५० कर्मचारी परिचालन गरिएको छ । मतदाता सङ्ख्याका आधारमा एउटा मतदान केन्द्रमा पाँचदेखि आठसम्म कर्मचारी खटाइएको छ । मतदानमा खटिने कर्मचारीबाहेक प्रत्येक मतदान केन्द्रमा दुईदेखि चार स्वयंसेवक परिचालन गरिनेछ ।

प्रतिक्रिया