शुक्रबार, चैत १६, २०८०

विराटनगरमा श्रमिकहरु आन्दोलित

नेपालखोज २०७६ मंसिर १३ गते १०:४२

मंसिर, १३ विराटनगर । विराटनगरमा सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठानले कार्यरत श्रमिक सूचिकृत गरिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ को अगुवाईमा शुक्रबार श्रमिकहरुले र्याली प्रदर्शन गरेका छन् ।

सरकारले तोकेको समयभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू गरिनुपर्ने लगायतका माग राख्दै उनीहरुले र्याली निकालेका हुन । विराटनगरस्थित अतिथि सदन हुँदै निकालिएको उक्त र्यालीले नगरको विभिन्न स्थान परिक्रमा गरी उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका अध्यक्ष प्रकास मुन्दडालाई ज्ञापनपत्र बुझाएका थिए ।

र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष किशोर धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु भएको एक वर्ष वितिसक्दा पनि न्यून संख्यामा सुचिकृत गरिएकाले आन्दोलनमा उत्रिन बाध्य हुनु परेको बताए ।

सुचिकृतको समयलाई पटक पटक थप गर्दै जानु र रोजगारदाता श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सुचिकृतमा ढिलाई भइरहेको धमलाले बताए । सरकाले ल्याएको योगदानमा आधरित सामाजिक सुरक्षा कोष प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

हालसम्म कोषमा १ लाख १५ हजार ६ सय श्रमिक सूचीकृत भएका छन् भने १० हजार ४ सय ७७ उद्योग प्रतिष्ठान आबद्ध भएका छन् । हालसम्म कोषमा १७ करोड योगदान रकम संकलन भएको छ । जसमध्ये प्रदेश नं. १ बाट १५ हजार ७ सय ३५ श्रमिक सूचीकृत भएका छन् भने १ हजार ७ सय ६ वटा मात्र उद्योग प्रतिष्ठान सुचिकृत भएका छन् ।

प्रतिक्रिया