बिहीबार, चैत १५, २०८०

एकै दिन दुई स्वर्ण जितेर इतिहास रचिन् आयशाले

नेपालखोज २०७६ मंसिर १७ गते ११:२८

१७ मंसिर, काठमाडौँ । १२ औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए । उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन् । उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि पारिवारिक जिम्मेवारी बढेको थियो । तर, २००६ को कोलम्बो सागमा रजत र २०१० को ढाका सागमा स्वर्ण जितिसकेकी आयशाले यसपटक दोहोरो स्वर्ण जितेर इतिहास रचिन् ।

यसपटक उनले पुम्सेको महिला टिम इभेन्ट्स र एकल स्पर्धामा स्वर्ण जितेकी हुन् । सागमा एकै संस्करणमा दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली महिला हुन् । त्यस्तै, सागमा महिलातर्फ सर्वाधिक दुई स्वर्ण जित्ने संगीना वैद्यको कीर्तिमान भंग गर्दै उनले आफ्नो स्वर्ण संख्या ३ पुर्याइन् । ‘१२ औं सागपछि यसरी शशक्त पुनरागमन गर्छु भन्ने कल्पना थिएन,’ सोमबार दोहोरो स्वर्ण जितेपछि आयशाले भनिन्, ‘धेरैले सुझाव दिन्थ्यें । खेल्न छाडेर बच्चा हुर्काउन लाग । तर दीपकले सधैं हौस्याँइरहे ।’

उनका श्रीमान् दीपक विष्ट सागका किर्तिमानी खेलाडी हुन्, जसले लगातार चार संस्करणमा चार स्वर्ण जितेका छन् । विष्ट अहिले प्रशिक्षक छन् । आयशाका अनुसार दीपकले नै तेक्वान्दोमा ‘गेरुगी’ छाडेर ‘पुम्से’ विधा रोज्न लगाएका हुन् ।
‘यो मेरो एक्लो उपलब्धी होइन् । मेरो सर्वाधिक ठूलो सफलताको सारथी नै दीपक हुन्,’ दोहोरो स्वर्ण जितेपछि यति भन्दै उनी रोइन् । दुई छोरा आदिश र आधारलाई डोहो¥याउँदै दीपक आयशालाई बधाई दिन आए, त्यसपछि दीपकको अंगालोमा बाँधिएपनि आयशाको आँशु रोकिएन् ।

‘म जस्ता धेरै आमाहरूलाई यसले सफलताका लागि हौसला र आँट मिलोन् । यो मेरो जीवनकै अद्भूत भोगाई हो,’ आँशु पुछ्दै उनले भनिन्,‘ रातदिन मेहिनत गरेको थिएँ । सपना पुरा हुँदा मलाई कहाँबाट कहाँ पुगेजस्तो महसुस भइरहेको छ ।’

प्रतिक्रिया