आइतबार, जेठ ६, २०८१

नेपाललाई टि२० विश्वकपमा पुर्याउने खेलाडीले जनही १३ लाख पाउने

नेपालखोज २०८० कार्तिक २१ गते १७:०८

काठमाडौं । नेपाललाई २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपमा पुर्याउने नेपाली क्रिकेट टोलीका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कार दिन सिफारिस गर्ने भएको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्ष, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले पनि क्रिकेट टोलीलाई ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको थियो। नेपालले टि२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो । समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो । गत आइतबार नेपालले सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको थियो ।

प्रतिक्रिया