शुक्रबार, चैत १६, २०८०

न्यायपरिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गर्न सकेन, सात जिल्लामा नयाँ न्यायाधीश भने सिफारिस

नेपालखोज २०७६ मंसिर १७ गते १८:०३

७ मंसिर, काठमाडौँ । न्यायपरिषद्ले सात जिल्ला अदालतमा नयाँ न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले सोलुखुम्बु, डोल्पा, भोजपुर, रूकुम, झापा, सप्तरी र बाँके जिल्ला अदालतमा न्यायाधीश सिफारिस गरेको हो।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका रजिष्ट्रार गेहेन्द्रराज पन्त भोजपुरमा, सर्वोच्चका उपरजिष्ट्रार विद्याराज पौडेल रूकुममा, सर्वोच्चमा उपरजिष्ट्रार महेन्द्रराज काफ्ले सोलुखुम्बुमा, उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार टेकराज जोशी डोल्पामा, सर्वोचकी उपरजिष्ट्रार इन्दिरा शर्मा झापामा न्यायाधीश सिफारिस भएका छन्। उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले नियुक्त गर्नेछन्।

बैठकले पाँच जना न्यायाधीशको सरूवा पनि गरेको छ। भोजपुरका जिल्ला न्यायाधीश खिलराज रेग्मी बारामा, सोलखुम्बुका अमृतबहादुर बस्नेत झापामा, नवलपुर जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौला काठमाडौंमा, दोलखाका तेजबहादुर खड्का मोरङमा र रूकुमका आत्मदेव जोशीलाई धादिङ जिल्ला न्यायाधीशमा सरूवा भएका छन्।

त्यस्तै सर्वोच्चकी उप रजिष्ट्रार मनकुमारी जिएम बिक बाँकेमा र सर्वोच्चकै उप रजिष्ट्रार रिताकुमारी बख्रेल सप्तरी जिल्ला अदालतमा सिफारिस भएका छन्।

आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश भने सिफारिस गर्न सकेन। सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेले गत मंसिर ३ मा अवकाश भएपछि सर्वोच्चमा न्यायाधीश खाली छ।

प्रतिक्रिया