शुक्रबार, वैशाख १४, २०८१

चन्द्रगढी विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनाइने

नेपालखोज २०७६ मंसिर १८ गते ७:०५

१८ मंसिर, झापा । झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ ।

चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मङ्गलबार झापाको विर्तामोडमा छलफल भएको छ । गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए ।

अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको उनले जानकारी दिए । जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ, उनले भने । विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया