शनिबार, असार २१, २०८२

सेनाको पहलमा धमाधम ‘होल्डिङ सेन्टर’ निर्माण

नेपालखोज २०७८ मंसिर १८ गते १३:५३

काठमाडौं । कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढेको छ । नेपाली सेनाको व्यवस्थानमा ६० प्रतिशतभन्दा बढी निर्माणकार्य सकिएको छ ।

मन्त्रालयको चालु आर्थिक वर्ष २०७८\७९ को पहिलो त्रैमासिक समीक्षामा प्रधानसेनापति प्रभुराम शर्माले निर्माणाधीन सात ‘होल्डिङ सेन्टर’ निर्माणको काम ६० प्रतिशत भन्दामाथि पुगेको जानकारी दिएका छन् ।प्रधानसेनापति शर्माले भने, ‘पछिसम्मका लागि काम लागोस् भन्ने हेतुले बनाइएका एकतले भवन पूरा गर्ने काम भइरहेको छ, नयाँ निर्माणलाई पनि सँगसँगै लगिएको छ, विनियोजित रकम भने हालसम्म ५० प्रतिशत मात्र उपलब्ध भएको छ ।’

सरकारले नेपाल–भारत सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगञ्ज, नेपालगञ्जको बाँके र रुपन्देहीको बेलहियामा कम्तीमा एक हजार क्षमताको होल्डिङ सेन्टर बढाउने निर्णय गरेको थियो । रुपन्देहीको बेलहियामा भने हालसम्म जग्गा प्राप्ति नभएको कारण काम अघि बढन नसकेको रक्षा मन्त्रालयले जनाएको छ ।

होल्डिङ सेन्टर निर्माण परियोजना दुई अर्बको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय तहबाट आवश्यक सहयोग नभएको तथा अर्थ र गृह मन्त्रालयबीच समन्वय नहुँदा रुपन्देहीमा जग्गा प्राप्त गर्ने कार्य प्रभावित भएको बताइएको छ ।

परियोजनाका लागि हालसम्म ५० प्रतिशत मात्र रकम उपलब्ध भए पनि एक तलाका भवन एकपछि अर्को गर्दै लगातार बनाइएकाले अत्यावश्यक परेको खण्डमा अहिले नै प्रत्येकमा दुइ सयजनालाई राख्न सक्ने अवस्थामा बनिसकेको छ । सेनाको अनुरोधमा ठेकेदारले कामलाई निरन्तर अघि बढाइरहेकाले अब छिट्टै निर्माण सम्पन्न हुने जनाइएको छ ।

प्रतिक्रिया