शुक्रबार, चैत १६, २०८०

के यी सबै मुद्दाको लिस्ट र समाधानका कदमको योजना मन्त्रीसँग छन् ?

नेपालखोज २०७६ मंसिर १८ गते १८:०४

१८ मंसिर, काठमाडौँ । काठमाडौँमा भैरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) कारण माहोल अहिले खेलमय बनिरहेका बेला विषयलाई राजनीतिक जगततर्फ केन्द्रित गराउँदा केहि नजर नवगठित मन्त्रिमण्डलमा समेत छन् । राजनीतिक जगतमा अवसर र चुनौति दुवै समान रुपमा देखापर्छन् । जसबाट सुरक्षित अवतरण गर्नु सबैको बसको विषय होईन । प्रधानमन्त्री केपीशर्मा ओलीको मन्त्रिमण्डलमा नयाँ सदस्यका रुपमा प्रवेश गरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई समेत यस मन्त्री पदबाट सुरक्षित अवतरण गर्नु फलामको चिउरा चपाउनु बराबर जस्तै देखिन्छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी बहन गर्दै मन्त्री त्रिपाठीले नयाँ मन्त्रिमण्डलमा आफ्नो उपस्थिति त जनाए । तर, उनको यो उपस्थितिले उनलाई बोकाएको जिम्मेवारीकाको भार धान्न सक्छ त ? यो मुल प्रश्नका रुपमा उभिएको छ अहिले ।

यस पटक मन्त्री बन्नु पहिले उनले पूर्वी तराई भेगका विभिन्न एजेण्डा बोकेर निवर्तमान मन्त्री लालबाबु पण्डितका कदम विरुद्ध चर्को विरोध गरेका थिए । राज्यले पूर्वी तराई भागका जनताको आवाजलाई सुनेन, कर्मचारीतन्त्र (नोकरशाही) मा लोकसेवा आयोगबाट पदपूर्ति गर्न २०७६ जेठ १५ मा सार्वजनिक गरेको विज्ञापनमा समावेशी व्यवहार गरेन भनि असन्तुष्ट पक्षले विरोध गरिरहँदा उनको समेत समर्थनको मन्द आवाज त्यसमा मिसिएको थियो ।

अहिले उनी स्वयंम त्यसै असन्तुष्ट पक्षलाई जवाफ दिने ठाउँमा पुगेका छन् । लोकसेवा आयोगको २०७६ जेठ १५ को विज्ञापन विरुद्ध अधिवक्ता विकासकुमार ठाकुर समेतले दायर गरेको मुद्दा विचाराधिन अवस्थामा अदालतमा रहेको छ । त्यसैले पनि यस विषयबाट आफूलाई सुरक्षित अवतरण गराउनु मन्त्री त्रिपाठीकालागि चुनौतिपूर्ण बन्न सक्छ । यदि यसबाट सुरक्षित अवतरण गराउँन उनी असफल भए उनको अहिलेको मन्त्री पदको कार्यकाललाई पूर्वी तराईकै जनताले पक्का पनि सन्तुष्टिको अंक कम नै दिनेछन् ।

उनले आफु पूर्वका निवर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, जो पूर्वी तराईबाटै प्रतिनिधित्व गर्दथे र कुनै समय सामान्य प्रशासन मन्त्री हुँदा अधिंकाशका प्रिय पनि बनेका थिए । पछि यहि लोकसेवाको विज्ञापन विवादको विषयले ठुलै रुप लिएपछि अहिले ५ वर्षिय मन्त्रिमण्डलभित्र अटाएनन् । यस कुराको पनि हेक्का राखेर अघि बढ्नु पर्ने चुनौति मन्त्री त्रिपाठीलाई छ ।

योसँगै कर्मचारी समायोजनको मुद्दापनि बलियो कडीका रुपमा रहेको छ मन्त्री त्रिपाठीकालागि । उनको मन्त्रालयले सम्हालेको जिम्मेवारी कर्मचारी समायोजन निर्वतमान मन्त्री पण्डितले अधुरै छोडका छन् । यसको जिम्मेवारी अब मन्त्री त्रिपाठीकै काँधमा छ । जो अहिले सम्मकै बढी विवादित छ । त्यसैले यो काम सम्पन्न गर्नु समेत उनकालागि अग्नी परिक्षा बराबर देखिन्छ ।

तेस्रो, भिमकाय छिमेकी राष्ट्र भारतले हाम्रो देशको पश्चिम भाग हटपेको छ । त्यसैले लिम्पियाधुरा, लिपुलेक विवाद अहिले फेरी उत्कर्षमा पुगेको छ । यतिमात्र होईन मन्त्री त्रिपाठीको नै गृह जिल्ला भएको नवलपरासीमा सिमा विवाद फेरी जुर्रमुराएको छ । त्यहाँ वि.स १९०२ देखिहालसम्म पटक पटक गरि भारतले १४ हजार ५ सय हेक्टर जमिन अतिक्रमण गरिसकेको छ । अझै यहाँ वर्षेनी बाढीको समस्याले नागरिक आक्रान्त छन् ।

सुस्तामा बसोबास गर्ने करिब ३ हजार १ सय ५० जनसंख्या मध्ये ३ सय ५० जनाले समेत नागरिकता प्राप्त गर्न सकिरहेका छैनन् । सिमा समस्या र अतिक्रमणबारे स्थानियवासी आन्दोलित भई आफ्ना प्रतिनिधि मार्फत प्रधानमन्त्रीलाई भेट्न खोज्दा भेट नपाएको त्यहाँका स्थानीयले गुनासो गरिरहेका छन् । सिमाक्षेत्रका यस्ता विवादित किस्साले मन्त्री त्रिपाठीको क्षमताको परिक्षा लिईरहेको देखिन्छ ।

त्यसो त उनले तत्कालिन एमालेको चुनाव चिन्ह लिई स्वतन्त्र राजनीतिक समुह बनाई नवलपरासीबाट चुनाव जितेका हुन् । राजनीतिक वृत्तको विभिन्न उच्च स्रोतहरुका अनुसार उनले आफु हालको नेकपामा विलय हुने सौदाबाजी गरेर मन्त्री पदमा आसिन रहेका हुन् । सौदाबाजीको राजनीतिक पदमा जनता र सरकार दुवैको मुल्याङकनलाई उच्च बनाउन उनले आफ्नो यस पहिलेका मन्त्री पद सम्हालेका समय भन्दा दोब्बरै सफलता हासिल गर्नुपर्ने देखिन्छ । के देश र जनतासँग जोडिएका यि सबै मुद्दाको लिस्ट र समाधानका कदमको योजना मन्त्री त्रिपाठीसँग छ भन्नेमा नेपाली जनता विश्वस्त हुनसक्छन् ?

प्रतिक्रिया