शुक्रबार, वैशाख १४, २०८१

सागमा नेपालकाे स्वर्ण पदक संख्या १०० पुग्याे !

नेपालखोज २०७६ मंसिर १९ गते ७:२८

१९ मंसिर, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या १०० पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो।

हाल नेपालमा सागको १३औं संस्करण जारी छ। पहिलो संस्करण सम्पन्न भएको ३५ वर्षपछि नेपालले यस्तो उपलब्धि हासिल गरेको हो। नेपालका लागि १०० औँ स्वर्ण जित्ने सौभाग्य तेक्वान्दो खेलाडी सक्षम कार्कीलाई जुर्‍यो। सक्षमले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पुरुष ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडी वकार अली खानलाई पराजित गरे। सक्षमको स्वर्णसँग १३औं सागमा नेपालले जितेको स्वर्ण पदक संख्या २९ पुगेको छ।नेपाल दक्षिण एसियाली खेलकुदको अवधारणाकार र पहिलो संस्करणको आयोजक हो।

सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा नेपालले चार स्वर्ण, १२ रजत र आठ कांस्य जितेको थियो। सन् २००४ पछि मात्र साफको नाम परिवर्तन गरी दक्षिण एसियाली खेलकुद (साग) राखिएको हो। यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ।

प्रतिक्रिया