शुक्रबार, वैशाख १४, २०८१

अख्तियार नै घुस खाने सिडिओलाई जोगाउने खेलमा लागेपछि

नेपालखोज २०७६ मंसिर २० गते २२:२२

२० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि एक सय रुपैयाँ बिगो दाबी गरेर समेत कर्मचारी र प्रहरीविरुद्ध मुद्दा दायर ग¥यो । तर, लाखौं घुस खाएका सिडिओमाथि भने आयोगले चासो दिएको छैन ।
अभियुक्तसँग घुस लिने दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाल गृह मन्त्रालयले सरुवा गरेको छ तर उनीमाथि भ्रष्टाचार मुद्दामा आयोगले छानबिनमा चासो दिएको छैन । किनकी रिजाल पहिला आयोगमै सहायक प्रवक्ता थिए ।
सिडिओ रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए । पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन नै गरेर घटना सार्वजनिक गरेका हुन् ।

मेलुङ गाउँपालिका–४ भेड्पु निवासी लामा जनप्रतिनिधिमाथि हातपातको आरोपमा २४ दिनदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा थिए । उनलाई प्रहरीले सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । २४ दिन पूरा भएपछि प्रहरीले मंगलबार लामालाई प्रमुख जिल्ला अधिकारी रिजालसमक्ष थुनछेक बहसमा पठायो । प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयमा लगे पनि कार्यालय समयभन्दा ढिला पुगेको भन्दै त्यत्तिकै फिर्ता पठाइदियो । मुद्दाको बहस हुन सकेन ।
बुधबार पुनः उनलाई जिल्ला प्रशासन कार्यालय लगियो । थुनछेक बहसकै क्रममा लामालाई सिडिओ रिजालले यसअघि पनि दुईवटा मुद्दामा परेको भन्दै धरौटीमा छोड्न नमिल्ने बताए । उनले चेम्बरसँगैको अर्को गोप्य कोठामा लगेर लामालाई ‘यसअघि नै तिमीविरुद्ध दुईवटा मुद्दा परेकाले धरौटीमा छोड्न मिल्दैन’ भन्दै रकम बार्गेनिङ गरे । लामाले आफ्नो सानो बच्चा रहेको भन्दै परिवारमा अप्ठेरो भएकाले धरौटीमा छोडिदिन रिजालसँग आग्रह गरे । त्यसपछि उनले ‘मलाई रिक्स छ, एकपटकलाई बच्यौ एक लाख धरौटी लाग्छ’ भनेका थिए । सिडिओ रिजालले घुस रकम मागेपछि लामा परिवारले ऋण खोज्दै एक लाख जुटाएर बुझाएको लामाकी श्रीमती रेणु तामाङले बताइन् ।
यसअघि पनि जिल्लामा उनले घुस लिएको खुलेको थियो । त्यसविरुद्ध गृहमन्त्रीसमक्ष जिल्लाबाट डेलिगेसन समेत आएको थियो । तर, गृह मन्त्रालयले चासो दिएन । जसकारण अहिले गृह प्रशासनकै बदनाम भएको छ ।

प्रतिक्रिया