सोमबार, चैत १०, २०८१

म्याराथनमा किरणसिंह बोगटीले जिते स्वर्ण पदक, नेपालको स्वर्ण संख्या ४२ पुग्यो

नेपालखोज २०७६ मंसिर २१ गते १०:२३

२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
उनले निर्धाति दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरे । सन् १९९५ मा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । त्यसपछि १३ औं सागमा किरण बोगटीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
साग खेलकुदमा सबैभन्दा कम समयमा म्याराथन दौड जितेको रेकर्ड भने बैकुण्ठ मानन्धरको नाममा छ । उनले सन् १९८७ मा २ घण्टा १५ मिनेट ३ सेकेण्डमा निर्धा्रित दुरी पार गरेर रेकर्ड राखेका छन् ।बैकुण्ठ मानन्धरले १९८४ र १९८५ मा पनि म्याराथन दौड जितेका थिए ।
सन् १९९५ मा मद्रासमा आयोजित साग प्रतियोगितामा नेपालका टीका बहादुर बोगटीले म्याराथन दौडमा स्वर्ण जितेका थिए । सन् २०१० मा ढाकामा आयोजित सागमा नेपालका राजेन्द्रसिंह भण्डारी पहिलो भए पनि डोपिङमा परेपछि उनले पदक गुमाएका थिए ।

Advertisement

प्रतिक्रिया