बिहीबार, वैशाख १३, २०८१

सभामुख छान्न नेकपामा सकस, उपसभामुख पदबाट तुम्बाहाङ्फेले राजीनामा दिँदै

नेपालखोज २०७६ पुष ६ गते ७:३५

६ पुष, काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनको विषयमा नेकपाभित्र अझै सहमति जुट्न सकेको छैन् । तर, सभामुख निर्वाचनभन्दा अघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

‘पार्टीको निर्देशनअनुसार सभामुख निर्वाचनको लागि सहज हुनेगरी राजीनामा दिने तयारी गरेकी छु,’ उपसभामुख तुम्बाहाङ्फेले भनिन्, ‘मैले राजीनामा दिने ठूलो विषय हैन् । योभन्दा पहिला पार्टीले सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय लिनु आवश्यक छ ।’

सभामुखमा आफ्नो दाबी पेस गरिरहेकी उपसभामुख तुम्बाहाङ्फे पार्टीले सभामुखका लागि नाम तय गरेपछि राजीनामा दिने मनस्थितिमा रहेको स्पष्ट हुन्छ । उनले आफूले सभामुख नपाए पनि सभामुखको उम्मेदवार छानिएपछि सहज वातावरण निर्माण गर्ने बताएकी छन् । उनले आफूले सभामुख नपाउँदा आफ्नो भूमिका के हुने भनी पार्टी नेतृत्वलाईसमेत प्रश्न गरेकी छन् । सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त भएको सभामुख पदमा उपसभामुख तुम्बाहाङ्फेसँगै संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दाबी गरिरहेका छन् । दुवै तत्कालीन एमालेतर्फका नेता हुन् ।

सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता ठाकुरले गर्ने
सभामुख निर्वाचन हुने बैठकको अध्यक्षता उपसभामुखले गर्न पाउने छैनन् । सभामुख र उपसभामुख निर्वाचनको अध्यक्षता प्रतिनिधिसभाको ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार सभामुख निर्वाचन गर्ने बैठकको अध्यक्षता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता एवं सांसद महन्थ ठाकुरले गर्नेछन् । अहिलेको प्रतिनिसभामा ज्येष्ठ सदस्य भएका कारण उनले सभामुख चयनका लागि बस्ने बैठकको अध्यक्षता गर्नेछन् ।

यदि ११ पुसभन्दा अगाडि नै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा गरेको अवस्थामा उनै ठाकुरले बैठकको अध्यक्षता गर्नेछन् । नेकपाले सभामुख आफ्नो पक्षमा राख्नका लागि उपसभामुखलाई राजीनामा गराउने निर्णय गरे पनि नयाँ सभामुख छान्न नसक्दा अन्योल छाएको छ ।

प्रतिक्रिया