बिहीबार, वैशाख ६, २०८१

फेरि विरोधमा चाबहिल–साँखु सडकखण्डका स्थानिय

नेपालखोज २०७६ मंसिर २२ गते ११:२६

२२ मंसिर, काठमाडौँ । चाबहिल–साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक आवागमनमा सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेका छन् । सरकारले गरेको काममा ढिलाइ भएको भन्दै सवारी आवागन नै रोकेर सर्वसाधारण विरोधमा उत्रिएका थिए । यसअघि सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् ।

बिहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् । सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।

तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भएको थियो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि काठमाडौँ महानगरपालिकाले अझै गति लिएको छैन् । सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । त्यसैगरी अहिले विगतमा स्थानीयले सडकका लागि छाडेको क्षेत्र पनि तारबार गर्न थालेकाले समस्या भएको काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ ।

प्रतिक्रिया