शुक्रबार, वैशाख ७, २०८१

कोहलपुरमा कफ्यूको तयारी, ९ जना प्रहरीसहित दर्जन बढी घाइते

नेपालखोज २०७६ मंसिर २२ गते १४:१३

२२ मंसिर, बाँके । स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ।

कोहलपुरको अवस्था अहिले नियन्त्रणभन्दा बाहिर गैरहेको छ । अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यू लगाउने तयारी गरिरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर ११ की १२ वर्षीया प्रकृति चन्दलाई घाइते भएकी हुन्।

पाँच नम्बर प्रदेश प्रहरीका प्रवक्ता नवराज पोखरेलका अनुसार घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।

स्कुटरको पछाडि बसेकी बालिका ठक्करले गम्भीर घाइते भएपछि स्थानीयले ट्रक जलाएका छन्।

त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत चन्दलाई बिहान १० बजेतिर ट्रकले विद्यालय अगाडि ठक्कर दिएको थियो। घाइते बालिकाको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्यन्त्र लैजाने तयारी भइरहेको शिक्षक ऋषि देवकोटाले सेतोपाटीलाई जानकारी दिए।

ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्।

घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया