बिहीबार, वैशाख ६, २०८१

कृषि पछि उर्जा क्षेत्रमा सहयोगको तयारी गर्दै इजरायल

नेपालखोज २०७६ मंसिर २४ गते १०:००

२४ मंसिर, काठमाडौँ । नेपाली कृषि क्षेत्रमा प्रविधि मार्फत सहयोग गर्दै आईरहेको इजरायलले स्मार्ट ग्रिड, पावर स्टेसन र स्मार्ट सोलुशनको क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको जनाएको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलबीच भेटवार्ताका क्रममा प्रमुख गीलले सो कुरा बताएका हुन् ।

भेटका क्रममा इजरायली विकास नियोग मसाभका प्रमुख गीलसँग मन्त्री पुनले उर्जा, जलविद्युत र सौर्य उर्जामा इजरायली लगानीकर्तालाई लगानी गर्न प्रेरितगरिदिनु आग्रह गरेका थिए ।

छलफलमा ऊर्जा मन्त्रालयमातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो।

छलफलमा इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य, नेपालका लागि इजरायली राजदूत बोनी ओमेरको पनि सहभागी हुनुभएको थियो ।

उर्जामन्त्री पुनसँगको भेटघाटसँगै इजरायली विकास नियोग मसाभका प्रतिनिधि टोलीले नेपालका ठूलो उद्योगी एवं व्यवसायीहरुसँग पनि उर्जाका क्षेत्रमा लगानी भित्र्याउने विषयमा छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया