बिहीबार, वैशाख १३, २०८१

निर्मला हत्या प्रकरणः अभियुक्तको नजिक पुगेको प्रहरी दाबी !

नेपालखोज २०७६ मंसिर २४ गते १०:४२

२४ मंसिर, काठमाडौं । बलात्कारपछि हत्या भएको १५ महिनापछि निर्मला हत्या प्रकरणको अनुसन्धान पछि अभियुक्तको नजिक पुगेको प्रहरीले दाबी गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार अनुसन्धान जारी छ तर पनि अभियुक्तको नजिक प्रहरी पुगिसकेको छ ।

अघिल्लो वर्षको साउन १० गते साथीको घर जान निस्किएकी निर्मला पन्त साउन ११ गते घरभन्दा केही परको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् । तत्कालीन समयमा प्रहरीले अनुसन्धानमा लापरबाही गरेको भन्दै व्यापक विरोध भएको थियो । प्रहरीले गत भदौ ४ गते घटनामा संग्लन रहेको आरोपमा मुख्य अभियुक्त भन्दै भीमदत्तनगर–१९ बाँगफाँटाका दिलिपसिँह विष्टलाई सार्वजनिक गरेको थियो ।

तर निर्मलाको शरीरबाट निकालिएको स्वावसँग दिलिपको डीएनए म्याच नभएपछि उनी साधारण तारेखमा छुटेका थिए । दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गरेपछि प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै आन्दोलन चर्किएको थियो । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर स्थानीय शनि खुनाको ज्यान गएको थियो । निर्मला हत्याकाण्डको अनुसन्धानमा लापरबाही गरिएको भन्दै तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख र वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई बर्खास्तमा परेका थिए ।

आठजना प्रहरी अझै निलम्बनमा छन् । सरकारद्वारा गठित समितिले दिलिपसिँह विष्टलाई नक्कली अभियुक्त बनाइएको भन्दै प्रहरी अधिकारीलाई कारवाहीको सिफारिस गरेको थियो । यसबीचमा प्रहरी एकसय बढी व्यक्तिको डीएनए परीक्षणसमेत गरेको थियो । तर कसैको पनि डीएनए म्याच भएको थिएन ।

बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीले डीएनएको नमुना संकलन र परीक्षणमाथि प्रश्न उठाउँदै आएका थिए । अन्तमा गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुख डीएनए विशेषज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले गठन गरेको थियो ।

सो समितिले नमुना परीक्षणमै त्रुटि भएको निष्कर्ष निकालेपछि प्रहरीलाई अनुसन्धानका लागि सहज भएको हो । प्रहरीले डीएनएमै भर पर्नुपर्ने अवस्था नभएपछि अभियुक्तको पहिचान छिट्टै लाग्ने प्रहरी अधिकारीले बताउँदै आएका थिए । रिजाल नेतृत्वको विज्ञ समूहले डीएनएबाट दोषी पत्ता नलाग्ने निष्कर्ष निकालेको छ । प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकिएको छ । प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।

सयौं व्यक्तिको डीएनए परीक्षणबाट समेत अभियुक्तको पहिचान हुन नसकेपछि गृहले विज्ञ समिति गठन गरेको थियो । एक अधिकारीका अनुसार विज्ञ समूहको प्रतिवेदन पनि महत्वपूर्ण आधार हो । यसबाट अनुसन्धान सहज भएको छ । अब अभियुक्तको डीएनए म्याच नभए पनि हत्या अभियोगमासमेत अनुसन्धान गर्न सकिनेछ ।

गृहले गत महिना रिजालको संयोजकत्वमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डीएनएविद् दिनेश झा र त्रिवि शिक्षण अस्पताल महाराजगन्जका डा. तुलसी कँडेल सदस्य रहेको डीएनए परीक्षणसम्बन्धी विज्ञ समिति गठन गरेको थियो ।
प्रतिवेदनमा नमुना संकलनदेखि परीक्षणसम्म त्रुटि भएकाले डीएनएबाट अनुसन्धान सफल हुने सम्भावना नरहेको निष्कर्ष निकालिएको बताइएको छ । विज्ञ समूहले निर्मलाको शव पोस्टमार्टम तथा नमुना संकलनमा संलग्न चिकित्सकलगायत अन्य सरोकारवाला व्यक्तिसँग त्यसबारे जानकारी लिइएको थियो ।

प्रतिक्रिया