बिहीबार, वैशाख १३, २०८१

चितवनमा हात्ती महोत्सव नगर्न पशुअधिकारवादीको आग्रह

नेपालखोज २०७६ मंसिर २६ गते १६:२०

२६ मंसिर, चितवन । चितवनमा हात्ती महोत्सव नगर्न पशुअधिकारवादीहरुले आग्रह गरेका छन् । चितवन महोत्सवका क्रममा हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि माहुतेले जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु प्रयोग गर्ने गरेको भन्दै पशुअधिकारवादी संस्थाहरुले विरोध जनाएका छन् ।

गत वर्ष आयोजना गरिएको चितवन हात्ती महोत्सवबाट पिपुल फर दि इथिकल ट्रिट्मेण्ट अफ एनिमल्स (पेटा) ले प्राप्त गरेको भिडियो फुटेज मा माहुतेले हात्तीलाई दौड, सवारी र फुटबल तथा पोलो “खेल” को लागि जबर्जस्ति अंकुश, लठ्ठी तथा काठे चक्कुजस्ता धारिला हतियारहरु टाउकोमा र कानजस्तो संवेदनशील अंग पछाडीको भागमा प्रहार गरेको र घोचेको देखाइएको भन्दै पशुअधिकारवादीहरुले आपत्ती जनाएका छन् ।

दोषी देखिने प्रमाणको प्रतियुत्तरमा लगभग सबै पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेका र धेरैजसो ट्राभल कम्पनीहरुले यस्तो क्रुर कार्यक्रमसँग सम्बन्ध नराख्ने भनेर प्रतिज्ञा गरेका पेटाले दाबी गरेको छ । विश्वभरबाट हजारौँ मानिसहरुले यस्तो कार्य बन्द गर्न अनुरोध गरेको उसको भनाइ छ ।

पशुमाथिको क्रुरतालाई वेवास्ता गर्नाले देशको “भ्रमण वर्ष २०२०” अभियान मा कलङ्क लाग्ने काम मात्रै हुन्छ भन्दै पेटा र एनिमल राइट्स क्लब (आर्क) ले चेतावनी दिएका छन् तर, क्षेत्रीय होटल संघ नेपाल – चितवन (महोत्सवका आयोजक) र नवनिर्वा्चित अध्यक्ष, दिपक भट्टराईले भने महोत्सव रोक्ने तर्फ कुनै कदम नचालेको पेटाको भनाइ छ ।

“चितवन हात्ती महोत्सव को लागि हात्ती प्रतिको सास्ती बन्द नगरेसम्म पर्यटन मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ अभियानलाई जति नै प्रचारप्रसार गरेपनि यसले झनै पर्यटकहरुमा वितृष्णा पैदा गर्ने मात्रै देखिन्छ”, आर्क का सह(संस्थापक सुराजन श्रेष्ठ भन्छन्”विश्वसामु नेपालको अपमान हुन बाट बचाउन, भट्टराईले तत्कालै महोत्सव बन्द गर्नुपर्छ।”

गत वर्ष पेटाले थाइल्याण्डमा हुने किंग्स कप हात्ती पोलो प्रतियोगिता मा गरेको अनुसन्धान पश्चात तुरुन्तै उक्त कार्यक्रम बन्द भएको थियो । भारत र श्रीलंकामा पनि हात्ती पोलो प्रतियोगिता खारेज भएको पेटाले जनाएको छ ।

प्रतिक्रिया