बिहीबार, चैत १५, २०८०

माइतीघर–तीनकुनेमा साइकल लेन निर्माण गरिँदै

नेपालखोज २०७६ मंसिर २७ गते ७:०८

२७ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने भएको छ । हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेको हो ।

साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

“कम लागत लाग्ने र धेरैले प्रयोग गर्न सकिने हुनाले यहाँबाट साइकल लेन सञ्चालनको सुरुवात गर्न लागेका छौँ”, उनले भने, “सहरी योजनाको सिद्धान्तअनुरूप साइकल लेन र पैदलमार्ग व्यवस्थित गर्नेछौँ । ”

अहिले भएको साइकल लेनको उचित प्रयोगको वातावरण सिर्जना गरी भविष्यमा साइकल लेनको थप सञ्जाल विकास गर्ने गुरुयोजना तयार पारिएको उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध मात्र सिर्जना भएको छैन, माइतीघर–तीनकुने सडकमा साइकल लेन छ भन्ने पनि सर्वसाधारणलाई थाहा छैन ।

मुख्य सडकको सतहभन्दा अलि माथि उठेको ट्याक्टाइल पेभिङसहितको बाटोमा अहिले पैदलयात्रु हिँड्छन् । त्यही नै यो सडकको साइकल लेन हो ।

यसको निर्माणको त्रुटि र प्रवद्र्धनको अभावका कारण साइकल लेनको अस्तित्वबारे कसैलाई थाहा नभएको नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठ भन्छन् । यही त्रुटिपूर्ण साइकल लेनलाई पनि सच्याएर साइकलमैत्री बनाउन सकिने भएकोले यसको सञ्चालनका लागि प्रयास गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया