बिहीबार, चैत १५, २०८०

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

नेपालखोज २०७६ मंसिर २७ गते १२:४७

२७ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ ।

यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए ।

“बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भने, “वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।” स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया