बिहीबार, वैशाख १३, २०८१

कलिउड विशेषः चिसियो चलचित्रको व्यापार, ६ हप्तामा एक दर्जन फिल्म फ्लप

नेपालखोज २०७६ मंसिर २८ गते ११:११

२८ मंसिर, काठमाडौं । गत मंसिर ६ गते चलचित्र ‘च च हुई’ हेर्न एक जना मात्र दर्शक हलमा आएपछि काठमाडौंको एक मल्टिफ्लेक्सले शो नै रद्द ग¥यो । सो चलचित्र त्यही दिन चितवनको इन्द्रदेवमा पनि दर्शक अभावले प्रदर्शन स्थगित भयो । प्रसंग २–काठमाडौंको पुष्पाञ्जली हलमा चलचित्र ‘माछा माछा’ हेर्न तीनजना पनि दर्शक नभएपछि हल नै बन्द गर्नुपरेको सञ्चालक गोपाल कायस्थले गुनासो गरे । पछिल्ला दिनमा नेपाली चलचित्रको व्यापारको हविगत दर्शाउन यी दुई दृष्टान्त पर्याप्त छन् ।

खासगरी तिहारपछि रिलिज भएका चलचित्रले पानी पनि माग्न भ्याएका छैनन् । काठमाडौंमा जाडो बढेको छ । तिहारपछि काठमाडौंको मौसम चिसिएसँगै चलचित्रको व्यापार पनि चिसिन थालेको छ । यो चिसिने क्रम कहिलेसम्म जारी रहला भनेर न चलचित्रकर्मी भन्न सक्छन्, न त हल सञ्चालकले नै । तिहारको छेकोमा ‘छ माया छपक्कै’ लाग्दा दर्शकहरु हलमा छपक्कै छाएका थिए । त्यसअघि ‘कबड्डी’ को सिक्वेलले पनि दर्शकको साथ राम्रै पाएको थियो । कात्तिकमै तिहारको बिदाको फाइदा उठाउँदै ‘पोइ र्पयो काले’ले पनि लगानी उठाउन सफल भयो । तर, त्यसपछि सुनसान छ । नाम चलेका कलाकार, चर्चित ब्रान्ड सबै असफल भए ।

६ हप्तामा दर्जन चलचित्र
कात्तिक १५ देखि मंसिरको २७ गतेसम्म आइपुग्दा रिलिज भएका चलचित्रको सूचि लामै छ । ६ दिनको यो अवधिमा एक दर्जन चलचित्र रिलिज भए । कात्तिक १५ मा ‘वादशाह जुट’, कात्तिक २२ मा ‘घामड शेरे, ‘जीवन काँडा कि फूल’, कात्तिक २७ मा ‘मिस्टर नेपाली’, ‘सम्झिराख है’, मंसिर ६ गते ‘च च हुई’, मंसिरको १३ गते ‘सरौतो’ र ‘लभ यू हमेशा’, मंसिरको २० मा ‘माछा माछा’, ‘माया पिरिम’ र हिजो शुक्रबार दुई चलचित्र ‘प्रेम संसार’ र सूर्य किरण’ रिलिज भए ।

यसरी हेर्दा, करिब डेढ महिनाको अन्तरमा एक दर्जन बढी चलचित्र हलमा आएको देखिन्छ । एक दर्जन बढी चलचित्रको औषत लगानी हेर्दा करिब १० देखि १२ करोड रुपैयाँ डेढ महिनामा नै स्वाहा भएको प्रष्ट छ । यो आँकडा हेर्दा यो विकराल अवस्था हो । तिहारमा रिलिज भएको ‘हाउसफूल ३’ यता बलिउड चलचित्रको व्यापार पनि नेपालमा सुखद छैन । आयुष्मान खुरानाको ‘बाला’ ले मल्टिफ्लेक्समा ठीकठाकै व्यापार गरे पनि अन्य चलचित्रले दर्शक तान्न सकेनन् । बलिउड चलचित्रबाट समेत थ्रेट नभएको अवस्थामा नेपाली चलचित्रको व्यापार कमजोर हुनु झन् निराशाजनक हो । आउँदो साता रिलिज हुन लागेको चलचित्र ‘दबंग ३’ ले नेपाली बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया