बिहीबार, वैशाख २७, २०८१

आईतबार (आज) देखि ब्रोइलर कुखुराका चल्ला उत्पादन नै बन्द

नेपालखोज २०७६ मंसिर २९ गते १२:५८

२९ मंसिर, काठमाडौँ । आईतबार (आज) देखि ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द भएको छ । लागतअनुसार मूल्य नपाएको कारण नेपाल ह्याचरी उद्योग संघले आईतबारदेखि १० दिनसम्म चल्ला उत्पादन बन्द गर्न लागेको हो ।

बजारमा मुल्य सुधारको आशा राख्दै संघले यस्तो निर्णय गरेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टीकाराम पोखरेले जानकारी दिए । लागत मुल्यमा पनि २५ रुपैयाँ कम गरि ब्रोइलरका चल्ला बेच्नु गरिरहेकाले व्यवसाय संकटमा पर्ने अवस्था सृजना भएको अध्यक्ष पोखरेलले बताए । उनले भने, ‘एउटा चल्ला उत्पादनमा करिब ५५ रुपैयाँ लागत लाग्छ, तर हाल चल्लाको बिक्री मूल्य ३० रुपैयाँभन्दा पनि कम छ । यसरी त गाह्रो हुन्छ ।’

संघले लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गर्ने छ । ह्याचरी उद्योगीहरुले १० दिनसम्म कुनै पनि हृयाचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न हृयाचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय गरेका छन् ।

१० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड रुपैयाँ बढी नोक्सान हुने संघले जनाएको छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । चितवनमा मात्रै १२० भन्दा बढी ह्याचरी   छन् । हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको बताइन्छ ।

प्रतिक्रिया