शुक्रबार, चैत १६, २०८०

राती सडकमा सुत्नेलाई भटाभट समाउँदै बालाजु पुर्याउँदै महानगर

नेपालखोज २०७६ पुष १ गते १४:४१

१ पुस, काठमाडौं । काठमाडौं उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए ।

मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनी मानिन् । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिन पुगिन् । “के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ”, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किइन् ।

प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन् । “भोलिदेखि सडकमा बस्दिन, आज आफन्तकोमा जान्छु”, भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौशाला चोकमा ४९ वर्षीय जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेन् । आफन्त र साथीभाइ भएकाले आज यहाँ सुते पनि भोलिदेखि नसुत्ने अडान उनले लिए । आश्रमका अभियानकर्मी र प्रहरी मिलेर उठाउन खोजेपछि उनले ‘मानवीयता नभएको मान्छे’ भन्दै अंग्रेजीमा गाली गरे ।

उद्धारका क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ्ठ भएर सुतिरहेको पाइए । चाबहिल नजिकिएको पुलमुनि धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ्यान भेटियो । राति १० बजे त्यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एक जना सुतिरहेका थिए । पर्खालको भित्तो मुश्किलले चढेर जानुपर्ने पुलमुनि सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्मे नै प¥यो । सोमबार राति ८ देखि १०:३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तविक बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भई सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिए ।

केही दिनअघि मात्रै थापाथली पुलमुनि वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौँमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएको छ । गत मंसिर २९ गते काठमाडौँ महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ । अस्थायी आवास केन्द्रमा पु¥याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने शर्तमा छाड्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको तथा त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

काठमाडौं महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते पृथ्वीनारायण नगरपालिका र चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र २०७५ कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय र बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ ।- रासस

प्रतिक्रिया