शुक्रबार, चैत १६, २०८०

महागढीमाईमा रु १७ लाख भेटी

नेपालखोज २०७६ पुष २ गते ९:०३

२ पुस, निजगढ । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५-५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत रु सात लाख ५१ हजार पुजारी मङ्गल चौधरीलाई दिइएको छ । एघार वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी रु १६ लाख ७० हजार ८६० गनिएको हो । गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी रहेको छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब रु एक लाखभन्दा बढी हुनसक्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले अनुमान गरेको छ ।

भेटी गन्दा सीसीटीभी क्यामराको समेत प्रयोग गर्नुपरेको थियो । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ । यसैबीच गत मङ्सिर १ गतेदेखि लागेको पञ्चवर्षीय गढीमाई मेला एक महिना लागेर मङ्सिर ३० गते सम्पन्न भएको हो । एकमहिने लामो मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा मङ्सिर १७ गते राँगा बलि र १८ गते बोका बलि चढाइएको थियो । बलि चढेका पाडाको टाउको तीन हजार ५०० रहेको मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले बताए । यसैगरी तीन लाखभन्दा बढी बोकाको बलि भएको अनुमान गरिएको छ । लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

प्रतिक्रिया