मंगलबार, वैशाख ११, २०८१

काठ लिलाम बिक्रीबाट ७४ लाख राजश्व

नेपालखोज २०७६ पुष २ गते ९:४४

२ पुस, भद्रपुर । विगत एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका, बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए । उनका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो ।

उनले सरकारले तीन वटा ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरेको जानकारी दिए । उनका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो । गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरेको प्रमुख घिमिरेले बताए ।

काठसँगै पक्राउ गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया