सीमा विवाद समाधान गर्न कूटनीतिक प्रयास
३ पुस, काठमाडौँ । नेपाल सरकारले छिमेकी मुलुक भारतबाट अतिक्रमणमा परेका नेपाली भूमिलाई आफ्नो भूभागमा समेट्न निरन्तर पहल जारी राखेको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीचको सीमाको यकिन गर्ने निर्णय गर्दै सीमा निरीक्षण टोलीलाई काम थाल्न निर्देशन दिइसकेको छ ।
नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानीलाई भारतको नक्सामा राखेर सार्वजनिक गरिएको नयाँ नक्साको विरोध गर्दै नेपालले सच्याउनका लागि कूटनीतिक पत्र भारत सरकारलाई पठाइसकेको छ ।
परराष्ट्र मन्त्रालयमार्फत गएको त्यो कूटनीतिक पत्रको जवाफ भने भारत सरकारले अझै नदिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए। उनले भने, “अझै पनि हामी भारतको जवाफकै प्रतीक्षामा छौँ, औपचारिक अनौपचारिक कुनै खालको प्रतिक्रिया पाएका छैनौँ । ” भारतको प्रतिक्रिया पाएलगत्तै समस्या समाधानका लागि नेपाल र भारतबीच सचिवस्तरीय बैठक बस्ने तयारी रहेको जानकारी उनले दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया