शुक्रबार, वैशाख १४, २०८१

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि औपचारिक रुपमै लाग्यो महाअभियोग,अब माथिल्लो सदनमा सुनुवाइ

नेपालखोज २०७६ पुष ३ गते १४:०१

३ पुस, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदले मत दिएका छन् । अमेरिकी संसदको तल्लो सदनका सांसदले महाअभियोग लगाउने पक्षमा मत दिएसँगै अब ट्रम्पमाथि औपचारिक रुपमै महाअभियोग लागेको छ । नेपाली समय अनुसार बिहीबार बिहान भएको मतदानमा ट्रम्पमाथि महाअभियोग लागेको हो । महाअभियोग लगाउने पक्षमा २३० तथा विपक्षमा १९७ मत परेको हो । महाभियोग लाग्नका लागि २१६ मत भए पुग्ने थियो ।

अब माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ रिपब्लिकनहरुको बहुमत छ । सदनकी सभामुख न्यान्सी पेलोसीले मतदान सकिए लगत्तै शक्तिको दुरुपयोग अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको घोषणा भइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मतदान अघि तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा तातो बहस भएको थियो । बहसको सुरुमा बोल्दै सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएकाले महाभियोग लगाउनुको विकल्प नभएको जिकिर गरेका थिए ।

तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । राष्ट्रपति ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग गरेको कुराकानीबारे संसद्ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ । विगतमा दुईजना राष्ट्रपति बिल क्लीन्टन र एन्ड्रिउ जोन्सन विरुद्ध महाभियोग लगाइएको थियो । -एजेन्सी

प्रतिक्रिया