बिहीबार, वैशाख १३, २०८१

नेम्वाङ फेरी सभामुख बन्ने पक्का, चुनावी तालमेलको सहमतिसँगै राजपाले उपसभामुख पाउँदै

नेपालखोज २०७६ पुष ३ गते १६:३९

३ पुस, काठमाडौँ । नेकपाले संसदको प्रतिनिधिसभाको सभामुखकालागि सुवासचन्द्र नेम्वाङलाई अघि सार्ने करिब पक्का भएको छ । लामो समयदेखि रिक्त रहेको सभामुख पदमा पूर्वसभामुख समेत रहेका सत्तारूढ नेकपाको संसदीय दलका उपनेता नेम्वाङको नाममा सहमति जुटेको नेकपा उच्च स्रोतले जनाएको छ ।

स्रोतले भन्ने, “नेम्बाङको नाममा सहमति त जुटेकोे छ तर यो कुरा अहिले नै बाहिर नल्याउने भनिएको छ ।” स्रोतका अनुसार यस अघि राजिनामा दिन दबाब दिए पनि उपसभामुखबाट राजिनामा नदिने अडान लिएकी उपसभामुख शिवमाया तुम्बाहाङफेले नेम्वाङ सभामुख हुने पक्का भएसँगै राजिनामा दिन सहमत भैसकेकी छन् ।

बलात्कारको आरोप लागेपछि प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन लगाइएको थियो । उनि हाल पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् । अब हिउँदे अधिवेसनको सुरुवातमै संसदलाई सभामुख दिने नेकपाको तयारी अनुरुप नेम्बाङको नाममा आन्तरिक सहमति गरेपनि शुक्रबारको संसद बैठकको उपसभामुख तुम्बाहाङफेले संचालन गर्नेछिन् ।

नेकपाको पूर्व माओवादीले सभामुखको पद गुमाएपछि अहिले पूर्व एमालेको पोल्टाबाट नेम्बाङको नाममा गोप्य सहमति भैसके पश्चात पूर्व माओवादी भने संसदीय दलको उप नेता पदमा आफुबाट नाम छनोट गर्ने प्रयास जारी राखेको छ ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेका मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले उपसभामुख पाउने पक्कापक्की भएपनी अहिले नै कसलाई उपसभामुख बनाउने भन्ने टुंगो नलागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया