शुक्रबार, जेठ ४, २०८१

ओलीको टिप्पणी- अन्य दलका उम्मेदवार चर्चा गर्न लायक छैनन्

नेपालखोज २०७९ वैशाख १८ गते १४:१९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिह्नमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे ।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका वाग्मती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए । उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे ।

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्‍याए ।

प्रतिक्रिया