बिहीबार, वैशाख १३, २०८१

बुद्धको जन्मस्थल लुम्बिनीमा ठूला आयोजना निर्माणले गति लिँदै

नेपालखोज २०७६ पुष ४ गते ८:५१

४ पुष, लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय ठूला आयोजना निर्माणको कामले गति लिन थालेको छ । तीन वर्ष्भित्र गुरुयोजना अनुसारका काम सम्पन्न गर्ने उद्देश्यअनुरुप आयोजना निर्माणका काम तीव्र पारिएको हो ।

लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार कतिपय आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनीमा पाँच हजार मानिस अट्ने सम्मेलन तथा मेडिटेसन सेन्टर निर्माणको काम तीव्र गतिमा भइरहेको छ । आगामी बुद्ध जयन्ती तथा अन्तर्रा्ष्ट्रिय बौद्ध सम्मेलनका लागि सम्मेलन केन्द्र निर्माण भइरहेको हो ।

भट्टराईका अनुसार केन्द्रको ७० प्रतिशत काम सम्पन्न भएको छ । पहिलो चरणको काम तीव्र गतिमा भइरहेका कारण आउँदो बुद्ध जयन्ती यही सम्मेलन केन्द्रमा गर्ने कोषको तयारी छ । आठ हजार पाँच सय वर्गफिटमा निर्माण भइरहेको सम्मेलन केन्द्र ३१ करोड ८९ लाख ९५ हजारको लागतमा बन्न लागेको हो । दोस्रो चरणअन्तर्गतको शौचालय, सौन्दर्यीकरणलगायतका कामका लागि डिजाइन तयार हुँदै गरेको सदस्य–सचिव भट्टराईको भनाइ छ ।

त्यस्तै लुम्बिनीको अर्को महत्वपूर्ण ठूलो आयोजनाअन्तर्गत सबै संरचनालाई आवश्यक पर्ने बिजुली व्यवस्थापनको काम पुस मसान्तसम्म सक्ने गरी अगाडि बढेको कोषले जनाएको छ । हालसम्म बिजुली व्यवस्थापनको काम ९५ प्रतिशत सकिएको कोषको दाबी छ । यो काम सम्पन्न भएपछि लुम्बिनीमा आफ्नै बिजुलीको व्यवस्था हुनेछ । त्यसका लागि ५० किलोमिटर गुणस्तरीय केबुल लाग्नेछ ।

उक्त तार जडानका लागि पोल निर्माणको काम सकिएको छ । लुम्बिनीभित्र ५८० वटा सोलार, मायादेवी मन्दिर वरिपरि ३३३ वटा विशेष किसिमको गार्डेन लगाउने काम सुरु भएको छ । त्यसका लागि तार, पोल, सिस्टम तथा ट्रान्सफर्मर राख्ने काम सुरु भएको छ । त्यसपछि लुम्बिनीमा बिजुलीको समस्या हट्ने छ भने लुम्बिनीमा बाङ्गिएका, खिइएका तार, पोल सबै हट्ने छन् । बिजुली व्यवस्थापनको काम २६ करोड २८ लाख ६६ हजारको लागतमा हुँदैछ ।

प्रतिक्रिया