बिहीबार, वैशाख ६, २०८१

आजदेखि हुने वकिल र प्रहरीको संयुक्त सम्मेलन प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

नेपालखोज २०७६ पुष ४ गते ९:५२

४ पुष, काठमाडौँ । सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन आज शुक्रबारदेखि काठमाडौंमा शुरु हुँदैछ । राष्ट्रिय सभागृहमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलनको दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो । आज शुक्रबार उद्घाटन कार्यक्रम मात्रै हुने र भोली शनिबारदेखि समूहगत छलफल अघि बढ्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए । सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतगरी ६ सय भन्दा धेरै सहभागी हुनेछन् । भोली शनिबारदेखि ६ वटा समूहमा समूहगत छलफल संचालन गरिने प्रवक्ता रेग्मीले बताए ।

सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच सहकार्य बढाउन र सरकारवादी मुद्दामा वस्तुनिष्ट र बैज्ञानिक अनुसन्धान गरी बलियो प्रमाण संकलनका लागि सम्मेलन फलदायी हुने विश्वास लिइएको छ । ‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहारः निष्पक्ष, अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने नाराका साथ हुन लागेको सम्मेलन आइतबार सकिने छ ।

प्रतिक्रिया