बिहीबार, चैत १५, २०८०

प्रदेश १ : मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने

नेपालखोज २०७८ कार्तिक ५ गते ७:२९

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने तयारी गरेका छन् । विपक्षी गठबन्धन बलियो भएपछि प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।

आचार्यले गत २५ असोजमा प्रदेश सभा सचिव समक्ष विश्वासको मत लिने सूचना दिएका थिए । सरकारका प्रवक्ता लक्ष्मण तिवारीका अनुसार, मुख्यमन्त्री आचार्यले बैठकमा जवाफ दिएपछि शुक्रबार नै विश्वासको मतका लागि आवश्यक मत विभाजनको प्रक्रियामा प्रवेश गर्ने कार्यक्रम छ ।

प्रक्रिया लम्बिए ७ कात्तिकमा प्रदेश सभा बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिनसक्ने छन् ।

दसैंअघि नै आचार्यले विश्वासको मत लिनुपर्ने अडान राख्दै आएको विपक्षी गठबन्धनको मागलाई बेवास्ता गरी सभामुख प्रदीपकुमार भण्डारीले बैठकको मिति सारेका थिए ।

एमालेका १० जना सांसदले दल परिवर्तन गर्नु अगावै १० भदौमा मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका थिए ।

यसैबिच नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राईलाई पाँच दलीय गठबन्धनले दशैंअघि नै मुख्यमन्त्री बनाउनेबारे छलफल गरेको थियो ।

संघीय सरकारमा सत्ता गठबन्धन गरेका दलबीच प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री लिने–दिने विषयमा प्याकेजमा सहमति भएपछि राईलाई प्रदेशमा मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रदेश १ मा ९३ सांसद छन् । एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक जना सांसद छन् ।

प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन् ।

प्रतिक्रिया