शुक्रबार, वैशाख १४, २०८१

चोभारको खुल्ला जग्गा माथि पर्यटन मन्त्रालयले आँखा गाड्यो, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लगानी गर्न बैंकसँग प्रस्ताव

नेपालखोज २०७६ पुष ७ गते १६:२७

७ पुस, काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चोभारमा रहेको सरकारी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने योजना प्रस्ताव गरेको छ । सोमबार नेपाल भ्रमण वर्षको तयारीका सम्बन्धमा बैंक, बीमा तथा अन्य वित्तीय संस्थाको प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिसँगको छलफलका क्रममा उक्त सम्मेलन केन्द्रमा लगानी गर्न पर्यटन मन्त्रालयले बैंकसँग प्रस्ताव गरेको हो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चोभारमा ८ सय रोपनी सरकारी जग्गा खाली बसेको भन्दै यहाँ अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने योजना रहेको जानकारी दिए । केन्द्रकालागि करिब १० अर्ब रुपैयाँसम्म लगानी लाग्न सक्ने मन्त्रालयको अनुमान छ ।

चोभारमा अत्याधुनिक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसहित दुई वटा पाँचतारे होटेल बनाउन पुग्ने जग्गा रहेको पनि सचिव अधिकारीले बताए । मन्त्रालयको योजना बारे जानकारी गराउँदै अधिकारीले भने, ‘१ हजारभन्दा बढी सवारी साधन एकै साथ पार्किङको व्यवस्थापन गर्न सकिन्छ भने १ लाखभन्दा बढी मानिसलाई क्याटरिङको व्यवस्थापन गर्न सकिने प्रारम्भिक भन्न सकिन्छ ।’ सचिव अधिकारी भन्छन्,  ‘यो अन्तरराष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आए नेपालमा सभा–सम्मेलनका माध्यमबाट पर्यटक आगमन अझ वृद्धि हुनेछ।’

मन्त्रालयको प्रस्ताव माथि छलफल गर्दै बैंकर्सहरुले कुनै पनि परियोजनामा बैंकको प्रत्यक्ष लगानी गर्न नसक्ने बताएका थिए । बैंकर्सहरुले परियोजनाका लगानीकर्तालाई ऋण उपलब्ध गराउन भने सक्ने बताए ।

प्रतिक्रिया