बिहीबार, वैशाख १३, २०८१

लगानीकोषको स्वामित्वमा स्टक डिलर कम्पनी खुल्दै

नेपालखोज २०७६ पुष ८ गते ९:२३

८ पुष, काठमाडौ । सेयर खरिद बिक्रीका लागि नागरिक लगानीकोषको स्वामित्वमा स्टक डिलर कम्पनी खुल्ने भएको छ । अर्थ मन्त्रालयको निर्देशनपछि नागरिक लगानीकोषको ५१ प्रतिशत सेयर रहने गरी कम्पनी खोल्न लागिएको हो ।

कोषको ५१ प्रतिशत सेयर रहने कम्पनीको चुक्ता पुँजी ५ देखि १० अर्बको बीचमा रहने गरी छलफल भइरहेको नागरिक लगानीकोषका कार्यकारी निर्देशक रमण नेपालले बताए । उनले स्टक डिलर कम्पनी खोल्ने प्रयास लामो समयदेखि भए पनि, चुक्ता पुँजी कति रहने र एक्लै स्थापना गर्ने कि साझेदारसँग मिलेर अगाडि बढ्ने भन्ने कुराको टुंगो लाग्न नसकेको बताए । संस्थागत रूपमा पहिलोपटक स्टक डिलर कम्पनी खोल्न लागिएको निर्देशक नेपालको भनाइ थियो । उनले भने, ‘यो आर्थिक वर्ष भित्रै स्टक डिलर कम्पनी सञ्चालनमा आउनेछ ।’

निरन्तर ओरालो लागेको पुँजी बजार विकासका लागि मन्त्रालयले लगानी कोषसहित आफ्नो प्रत्यक्ष लगानी भएका विभिन्न संस्थालाई कम्पनीमा लगानी गर्न निर्देशन दिएको छ । मन्त्रालयले नेपाल टेलिकम, नेपाल पुनर्बिमा कम्पनी, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान र निक्षेप तथा कर्जा सुरक्षण कोषलाई सहभागी गराएर कम्पनी खोल्न पहल गरेको हो । कोषको ५१ प्रतिशत स्वामित्व भए पनि ४९ प्रतिशत सेयर ककसको हुने र कुनकुन संस्थालाई समेट्ने र कसको कति प्रतिशत हिस्सा हुने विषय एक दुई दिनमै टुंगो लाग्ने कोषले जनाएको छ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०७४ संशोधनको क्रममा छ । यो नियमावलीमा स्टक डिलरको व्यवस्था छैन । त्यसैले, नेपाल धितोपत्र बोर्डले नियमावली संशोधनका लागि मन्त्रालयमा पेस गरिसकेको छ । मन्त्रालयले नियमावली संशोधन गरेपछि मात्रै नेपाल धितोपत्र बोर्डले आवश्यक काम कारबाही अगाडि बढाउन सक्नेछ । मन्त्रालयले नियमावली पास गरुन्जेल कम्पनीले आफ्नो सम्पूर्ण कागजी प्रक्रिया पूरा गरी कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ताका लागि पहल गर्ने भएको छ ।

बिगत ३ वर्ष यतादेखि निरन्तर घट्दै आएको सेयर बजारका कारण लगानीकर्ताबाट सरकार निकै आलोचित हुँदै आएको छ । बजार धेरै नै तल झर्दा लगानी कर्ताले अर्बौ रुपैयाँ गुमाइसकेका छन् । सेयर बजारको स्थायित्व र अनावश्यक उतारचढाव रोक्न बजार निर्माताको कुरा विगतदेखि नै उठे पनि अहिलेको सन्दर्भमा बजार निर्माताभन्दा पनि स्टक डिलरनै उपयुक्त हुने विज्ञहरूले सुझाव दिँदै आएका थिए । विज्ञहरूको सुझावपछि कोषले एक वर्ष अगाडिदेखि नै स्टक डिलर खोल्ने भन्दै नेपाल स्टक एक्सचेन्जमा प्रस्ताव आह्वान गरेको थियो ।

 

प्रतिक्रिया