बिहीबार, वैशाख १३, २०८१

मकवानपुरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ जना घाइते

नेपालखोज २०७६ पुष ११ गते १५:०७

११ पुस, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित रामचन्द्र भञ्ज्याङमा (आज) शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । हेटौंडाबाट काठमाडौं तर्फ आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप हेटौंडा–कुलेखानी–सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते भएको पौडेलले जानकारी दिए । जीपका चालक समेत घाइते भएका छन् ।

सिस्नेरी, छैमले, भिमफेदी र फर्पिङबाट आएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी मनमोहन मेमोरियर अस्पताल फर्पिङमा उपचारको लागि पठाइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट समेत थप टोली घटनास्थल तर्फ जाँदै गरेको पौडेलले बताए । प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता समेत रहेका पौडेलले बताए ।

प्रतिक्रिया