समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र यादवले गरे देउवासँग छलफल
११ पुष, काठमाडौँ । यसै साता सरकारबाट बाहिरिएको समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई पार्टीबीच हुन सक्ने सहकार्यबारे छलफल गरेका छन् ।
भट्टराई, यादव र समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ बिहीबार साँझ देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए । छलफलमा सहभागी एक कांग्रेस नेताका अनुसार बाबुराम र उपेन्द्रले देउवासँग माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने प्रस्ताव गरेका थिए ।
देउवाले पनि सहकार्यका लागि कांग्रेस तयार भएको बताए । तर दुई पार्टीबीच त्यसबारे औपचारिक निर्णय भने भइसकेको छैन् । छलफलमा पछिल्लो समय चर्चामा रहेको नेपाल ट्रष्टको जग्गालगायत विषयमा दुवै पार्टी मिलेर संसदमा कुरा उठाउनेबारे पनि छलफल भएको ती नेताले बताए ।
यादव निकट स्रोतका अनुसार संविधान संशोधनको विषयमा कांग्रेसको धारणा बुझ्न र प्रतिपक्षीबीच कसरी गठबन्धन गर्न सकिन्छ भन्नेबारे छलफल गर्न उनीहरूको भेट भएको हो । पुस ८ गते केपी शर्मा ओली नेतृत्वको सरकारबाट समाजवादी पार्टी बाहिरिएको थियो ।
प्रतिक्रिया