आइतबार, कार्तिक ९, २०७७

सभामुख चयन र एमसीसी मुख्य एजेन्डा रहेको नेकपाको सचिवालय बैठक सुरु

नेपालखोज २०७६ पुष १३ गते १०:४८

१३ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक केहिबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार पठाउने योजना बनाएको छ । सभामुखका सम्भावित उम्मेदवारका रूपमा सुवास नेम्वाङ, अग्नि सापकोटा, पम्पा भुसाल, देव गुरुङलगायतको नाम चर्चामा छ ।

यद्यपि, नेकपाले अहिलेसम्म कसलाई सभामुख गराउने भनेर निर्णय लिन सकेको छैन् । नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम–कारबाही प्रभावित हुँदै आइरहेको छ । अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे पनि आजको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

यसअघि बसेको स्थायी समिति बैठकले यसबारे टुंगो लगाउन नसकेपछि यसको अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया