प्रधानमन्त्री ओलीको ६९ औं जन्मोत्सव बालुवाटारमा मनाइयो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिवस बालुवाटार निवासमा मनाइएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बालुवाटार निवास पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका थिए । जन्मोत्सवमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।
प्रधानमन्त्री ओलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै बालुवाटारमा प्रधानमन्त्री ओलीको ‘बर्थे केक’ काटिएको छ ।
बर्थडे सेलिब्रेसन गरे लगत्तै प्रधानमन्त्री ओली पाँचथर गएका छन् । नेपाली सेनाको हेलिकोप्टरबाट उनी पाँचथर आइपुगेको उनका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार प्रधानमन्त्री ओली कुम्मायक गाउँपालिकाको यासोक आइपुगेका हुन् ।
प्रधानमन्त्री ओलीले त्यहाँ तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि लगत्तै सोही गाउँपालिकाको विद्युतिकरणको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।
प्रतिक्रिया