बुधबार, वैशाख १२, २०८१

हात्तीबाट लाखौँको क्षति

नेपालखोज २०७६ पुष १५ गते ११:०७

१५ पुस, सप्तरी । सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार-पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको सप्तरी प्रहरीले जनाएको छ ।

हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु¥याएको छ । हात्तीले घर भत्काउँदा भरतको रु १० हजार, ललनको रु ७० हजार, सन्तोषको रु १५ हजार, राजेन्द्रको रु २० हजार, अशोकको रु ३० हजार र दिनेशको रु २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा रु एक लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा रु एक लाख बराबरको क्षति भएको छ ।

सीताराम सदाको घर भत्काउँदा रु एक लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा रु ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा रु २०-२० हजार बराबरको क्षति भएको पीडितहरुले बताए ।

प्रतिक्रिया