बुधबार, वैशाख २६, २०८१

अति विपन्न परिवारलाई सौर्यबत्ती

नेपालखोज २०७६ पुष १६ गते ९:४७

१६ पुस, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । थापाका अनुसार बाक्सेका छ र खहरेका एक घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको छ । उक्त ठाउँका विष्णु नेपाली, सन्तमाया परियार, आइत थापा, आधीमाया थापा, कालु परियार, माया थापा र रश्मी थापालाई सौर्यबत्ती वितरण गरिएको हो ।

“बिजुली नपुगेको गाउँका अतिविपन्न र बिजुली पुगे पनि मिटर राख्नसक्ने हैसियत नभएका घरधुरी छानेर सौर्यबत्ती वितरण गरेका हौँ”, थापाले भने, “अन्य विपन्नलाई पनि क्रमशः सौर्यबत्ती वितरण गरिनेछ ।” सोलार प्यानल पाउने सात घरधुरी नै सुकुम्बासी परिवार हो । सार्वजनिक जग्गामा घर बनाएर बसेका उनीहरुले मिटर जडान गर्न पाएका छैनन् । प्रतिघर रु २५ हजार मूल्य बराबरको सोलार प्यानल वितरण गरिएको र जडानको खर्च पनि गाउँपालिकाले व्यहोर्ने अध्यक्ष थापाले जानकारी दिए ।

प्रतिक्रिया