बिहीबार, वैशाख १३, २०८१

यसरी हुँदैछ अपराह्न ४ बजेदेखि भ्रमण वर्षको औपचारिक शुभारम्भ

नेपालखोज २०७६ पुष १६ गते १५:१७

१६ पुस, काठमाडौँ । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउने घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बिच भ्रमण वर्षको औपचारिक शुभारम्भ हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने तयारी छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

आज अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम पाँच घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगानबाट सुरु हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौँ आइपुगेका छन् । ३४ देशका प्रतिनिधि नेपाल भ्रमण वर्ष उद्घाटनमा सामेल हुनेछन् । उद्घाटन कार्यक्रम पाँच घण्टा लामो हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया