बुधबार, वैशाख १२, २०८१

हत्या भएको दुई महिनापछि अभियुक्त पक्राउ

नेपालखोज २०७६ पुष १७ गते १०:११

१७ पुष, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा पत्रकार सम्मेलन गरी पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–७ बस्ने २३ वर्षीय सुमन राई र चौदण्डीगढी नगरपालिका–१० घर भई हाल ललितपुर महानगरपालिका–२५ भैँसेपाटी बस्ने २० वर्षीय किरणकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले बताउनुभयो ।

वडा नं ८ तल्लो हटियाका ५४ वर्षका श्यामकृष्ण श्रेष्ठ र निजकी श्रीमती ५१ वर्षकी रुकुमाया श्रेष्ठको गत कात्तिक १८ गते राति घरभित्र नै हत्या गरी ती अभियुक्त फरार रहेका थिए । प्रहरी प्रमुख पौडेलका अनुसार ती अभियुक्त पहिला सोही ठाउँमा श्रेष्ठ दम्पतीको घर बनाउने कामदार रहेको र पुरानो पैसा छ भन्ने थाहा पाएपछि काठमाडौँबाट पैसा लुट्नकै लागि योजना बनाएर सो ठाउँमा गएको अनुसन्धानबाट खुलेको छ ।

उहाँका अनुसार घटनापश्चात् केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत नेतृत्वको सात जना र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरी नेतृत्वको पाँच जनाको समूहले संयुक्तरूपमा गरेको अनुसन्धानका क्रममा घटना भएको एक महिना २८ दिनमा दुवै जनालाई मङ्गलबार काठमाडौँबाट पक्राउ गरिएको हो । अनुसन्धानको क्रममा ती दुई जनाले १८ गते राति काठमाडौँबाट योजना बनाई आएर श्रेष्ठ दम्पतीको घरमा राति ९ बजे झ्यालबाट प्रवेश गरी मादक पदार्थ सेवन गर्नुका साथै चाउचाउ खाएर त्यही घरमा सुतेको र राति खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेर पुरानो पैसा लुटेर फरार भएको पत्ता लागेको थियो ।

 

प्रतिक्रिया